विश्वविद्यालयभित्र रहेका राजनीतिक दलका भ्रातृ संगठनका कार्यालयहरू तत्काल खाली गर्न बालेन्द्र शाहको निर्देशन !
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले विश्वविद्यालयभित्र रहेका राजनीतिक दलका भ्रातृ संगठनका कार्यालयहरू तत्काल खाली गराउन निर्देशन दिनुभएको छ ।
आज ११ वटा विश्वविद्यालयका उपकुलपतिहरूसँग भएको छलफलमा उहाँले आवश्यक परे सुरक्षाकर्मी परिचालन गरेर भए पनि कोठा, भवन तथा जमिन ओगटेर बसेका दलगत कार्यालयहरू हटाउन निर्देशन दिनुभएको हो ।
छलफलका क्रममा ११ वटै विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलका भ्रातृ विद्यार्थी संगठनहरूको अराजक व्यवहारका कारण आफूहरूको मनोबल गिर्दै गएको गुनासो पोखेका थिए ।
उहाँहरुले विश्वविद्यालय परिसरभित्र दलीय राजनीतिको हस्तक्षेप बढ्दा प्रशासनिक तथा शैक्षिक मर्यादा कायम राख्न कठिन भएको बताउनु भएको छ । विद्यार्थी संगठनका नेता कार्यकर्ताको दबाब र अराजक शैलीले दैनिक कामकाज समेत प्रभावित भएको भनाई थियो ।
उपकुलपतिहरूको गुनासो सुनेपछि प्रधानमन्त्री शाहले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त बनाउन ठोस कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विश्वविद्यालयको साख जोगाउन र विद्यार्थीको भविष्यप्रति संवेदनशील हुन आग्रह गर्दै स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिनुभयो ।
यस्तै त्रिभुवन विश्वविद्यालयबाट अन्य विश्वविद्यालयले लिनुपर्ने समकक्षता (Equivalence) को झन्झटिलो व्यवस्था तत्काल अन्त्य गर्न उहाँले निर्देशन दिनुभयो। विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले कुनै पनि प्रकारको राजनीतिक दबाब वा हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।