आमसञ्चारका विशिष्ट सिद्धान्तकार तथा प्राज्ञिक निर्मलमणि अधिकारी को स्वर्ण जन्मोत्सव !
काठमाडौँ । आमसञ्चारका विशिष्ट सिद्धान्तकार तथा प्राज्ञिक व्यक्तित्व निर्मलमणि अधिकारी को स्वर्ण जन्मोत्सव आगामी जेठ १ गते विविध प्राज्ञिक कार्यक्रमसहित मनाइने भएको छ।
उनको ५०औँ जन्मोत्सवलाई विशेष बनाउने उद्देश्यले काठमाडौँ विश्वविद्यालय का प्राध्यापकहरू, विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरू तथा सञ्चार र शिक्षाशास्त्रमा विद्यावारिधि गरिरहेका शोधार्थीहरूको सक्रियतामा ५१ सदस्यीय स्वर्ण जन्मोत्सव मूल समारोह समिति गठन गरिएको हो।
समितिको संयोजकमा शिक्षाविद् अरुण पौडेल रहनुभएको छ भने उप–संयोजकमा नुमनाथ प्याकुरेल र सचिवमा सह–प्राध्यापक तथा शोधार्थी सहिष्णु पौडेल चयन हुनुभएको छ। त्यस्तै, सल्लाहकार संयोजकमा प्राध्यापक वीणा पौडेल नियुक्त हुनुभएको छ।
बैठकले विभिन्न उप–समितिहरू पनि गठन गरेको छ। गोष्ठी तथा प्रकाशन समितिको संयोजकमा तृष्णा आचार्य, प्रचार–प्रसार संयोजकमा अमरध्वज लामा र डिजिटल सामग्री निर्माण समितिको संयोजकमा दिपा बस्नेत चयन भएका छन्। त्यस्तै अध्ययन तथा अनुसन्धान समितिको संयोजकमा सुशील गौतम, व्यवस्थापनमा सम्झना घिमिरे, स्वयंसेवक व्यवस्थापनमा रामहरि केसी र प्राविधिक संयोजनमा रामकृष्ण प्रजापति चयन भएका छन्।
स्वर्ण जन्मोत्सव अन्तर्गत आयोजना हुने गोष्ठी तथा प्राज्ञिक कार्यक्रमहरूको प्रतिवेदन तयार पार्न केदार गौतमको संयोजकत्वमा अलग समिति गठन गरिएको छ।
समारोहलाई रचनात्मक र प्रभावकारी बनाउन दुईदिने विशेष प्राज्ञिक कार्यक्रमसहित सप्ताहव्यापी सेमिनार तथा वेबिनार सञ्चालन गरिने सचिव सहिष्णु पौडेलले जानकारी दिनुभयो। कार्यक्रमहरूमा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका अन्तर्राष्ट्रिय सञ्चार विज्ञहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
जेठ १ गते हुने मूल समारोहमा नेपाल सरकारका मन्त्रीहरू तथा विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई आमन्त्रण गरिने पनि समितिले जनाएको छ।
वि.सं. २०३३ सालमा तनहुँको छाङमा जन्मनुभएका प्राध्यापक डा. अधिकारी नेपालका पहिलो आमसञ्चार प्राध्यापकका रूपमा चिनिनुहुन्छ। उहाँले ‘साधारणीकरण सञ्चार मोडेल’ र ‘सञ्चार योग सिद्धान्त’ जस्ता मौलिक अवधारणाहरू विकास गर्दै नेपाली सञ्चार अध्ययनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।
उनका ६० भन्दा बढी पुस्तक तथा १०० भन्दा बढी अनुसन्धानमूलक लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भइसकेका छन्।
समारोह समितिका संयोजक अरुण पौडेलका अनुसार स्वर्ण जन्मोत्सवसँग सम्बन्धित विस्तृत कार्यक्रम तालिका चाँडै सार्वजनिक गरिनेछ।