शुक्रबार, मई १, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Expanding academic and research collaboration between Madan Bhandari Memorial College (MBMC) and Lord Buddha Education Foundation (LBEF) College!

मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) कलेजबीच शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने!

Admin
अप्रिल २१, २०२६
१८ पटक हेरिएको

मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) कलेजबीच शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने उद्देश्यले आज समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

यस सहमतिअनुसार अब दुवै कलेजले संयुक्त रूपमा शैक्षिक कार्यक्रम र अनुसन्धान गतिविधिहरू सञ्चालन गर्नेछन्। उपलब्ध स्रोत र दक्षतालाई एकआपसमा उपयोग गर्दै शिक्षाको गुणस्तर सुधार गर्ने र अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान दिने लक्ष्य राखिएको छ।

सम्झौतामा शिक्षक, विद्यार्थी र संस्थागत तहमा सहकार्यलाई विशेष प्राथमिकता दिइएको छ। यस अन्तर्गत संयुक्त अनुसन्धान परियोजना, अनुसन्धान लेख प्रकाशन, तालिम तथा कार्यशाला आयोजना, साथै प्राध्यापक आदान–प्रदान कार्यक्रम सञ्चालन गरिनेछ। विद्यार्थीहरूलाई समेत अनुसन्धानमा संलग्न गराउँदै इन्टर्नशीप र एक्सचेञ्ज कार्यक्रममार्फत व्यावहारिक अनुभव प्रदान गर्ने योजना बनाइएको छ।

कलेज प्रमुख डा. बाबुराम अधिकारीले यस सहकार्यले सेमिनार, कार्यशाला र सम्मेलनहरू सह–आयोजना गर्न सहयोग पुग्ने तथा विद्यार्थी र प्राध्यापकहरूको क्षमता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सूचना प्रविधि (आईटी) क्षेत्रमा रहेको सम्भावनालाई पनि यस सहकार्यले अझ मजबुत बनाउनेछ।

त्यस्तै, अनुसन्धान व्यवस्थापन समिति (आरएमसी)का सदस्य सचिव डा. प्रमोदराज उपाध्यायले दुवै संस्थाबीच उपकरण, स्रोत र प्रविधिको आदान–प्रदानले अनुसन्धानलाई अझ प्रभावकारी बनाउने बताउनुभयो। उहाँले भविष्यमा विशेषगरी साइबर सुरक्षाजस्ता क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने योजना रहेको जानकारी दिनुभयो।

एलबीईएफ कलेजका डिन (एकेडेमिक) प्रा. डा. आर.एन. ठाकुरले अन्तरविषयगत अनुसन्धानलाई प्राथमिकता दिँदै उपलब्ध जनशक्ति र स्रोतलाई अनुसन्धानमा अधिकतम प्रयोग गरिने बताउनुभयो। उहाँले सूचना प्रविधिमार्फत नवप्रवर्तन र व्यवहारिक अनुसन्धानलाई अघि बढाउने धारणा पनि व्यक्त गर्नुभयो।

यस सहकार्यबाट शिक्षक, विद्यार्थी, कलेज र समग्र समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास गरिएको छ। साथै आवश्यकताअनुसार पाठ्यक्रम सुधारका लागि त्रिभुवन विश्वविद्यालयलाई सुझाव दिने सहमति पनि भएको छ।

यो सम्झौता दुई वर्षका लागि लागू हुनेछ, जसलाई आपसी सहमतिमा थप गर्न सकिनेछ। आवश्यक परेमा लिखित सहमतिबाट संशोधन गर्न सकिने र कुनै पनि पक्षले ३५ दिनअघि सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने प्रावधान राखिएको छ।

सम्झौतामा एमबीएमसीका प्रमुख डा. बाबुराम अधिकारी, आरएमसीका सदस्य सचिव डा. प्रमोदराज उपाध्याय, एलबीईएफका डिन प्रा. डा. आर.एन. ठाकुर र ट्रेनिङ एण्ड प्लेसमेन्ट अफिसर निराजन भण्डारीले हस्ताक्षर गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio