शुक्रबार, मई १, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Historic Success: Toronto Announces 'Nepali Heritage Month', City Council Passes Motion MM40.8 Unanimously!

ऐतिहासिक सफलता: टोरन्टोमा 'नेपाली सम्पदा महिना' घोषणा, सिटी काउन्सिलद्वारा मोसन MM40.8 सर्वसम्मत पारित !

Sulav Baral
अप्रिल २४, २०२६
३० पटक हेरिएको


टोरन्टो, क्यानडा | २३ अप्रिल २०२६

टोरन्टो सिटी काउन्सिलले आज एक ऐतिहासिक निर्णय गर्दै हरेक वर्षको अप्रिल महिनालाई आधिकारिक रूपमा "नेपाली हेरिटेज मन्थ" (नेपाली सम्पदा महिना) घोषणा गरेको छ। काउन्सिलर नीथन सान (Ward 25) द्वारा प्रस्तुत गरिएको मोसन MM40.8 लाई काउन्सिलर एम्बर मोर्ले (Amber Morley) ले सेकेन्ड (समर्थन) गर्नुभएको थियो। हलमा उपस्थित सबै काउन्सिलरहरूले यस प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेका हुन्।

शैक्षिक पत्रिकासँग अध्यक्षको विशेष कुराकानी

यो ऐतिहासिक निर्णय लगत्तै नेपाल टच (Nepal Touch) सँग कुरा गर्दै नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (NCCS) का अध्यक्षले यस उपलब्धिलाई नेपाली समुदायको ठूलो विजयको रूपमा व्याख्या गर्नुभयो। उनले यस ऐतिहासिक क्षणमा आफूलाई निकै गौरवान्वित महसुस भएको बताउनुभयो।

अध्यक्षले करिब चार महिना अघि काउन्सिलर नीथन सानसँग भएको प्रारम्भिक भेटघाटलाई स्मरण गर्दै भन्नुभयो, "त्यही समयदेखि हामीले यसको खाका कोर्न र छलफल अगाडि बढाउन थालेका थियौँ। आज सबैको सामूहिक प्रयासले यो सपना साकार भएको छ।"

संस्थाहरू र व्यक्तिहरूको अभूतपूर्व एकता

NCCS अध्यक्षका अनुसार, यो सफलता कुनै एक व्यक्तिको मात्र नभई संस्थागत प्रयास र समुदायको सामूहिक आवाजको परिणाम हो। उनले नेपाल टचमार्फत जानकारी दिए अनुसार यस मोसनको पक्षमा जनलहर सिर्जना गर्न ठूलो तयारी गरिएको थियो:

• १५ वटा नेपाली संघ-संस्थाहरूले यस मोसनको समर्थनमा आधिकारिक पत्रहरू पठाएका थिए।

• १७० जना व्यक्तिहरूले सिटी क्लर्कको कार्यालयमा समर्थन पत्र (Letters of Support) पठाएर यो प्रस्ताव पारित गर्न बलियो आधार तयार पारेका थिए।

समुदायप्रति आभार

अध्यक्षले यी सबै १५ संस्था र १७० जना व्यक्तिहरूप्रति विशेष आभार प्रकट गर्दै भन्नुभयो, "जब समुदायका सबै संस्थाहरू र व्यक्तिहरू एउटै उद्देश्यका लागि एकजुट हुन्छन्, तब यस्तो उपलब्धि सम्भव हुन्छ। यो टोरन्टोमा रहेका सबै नेपालीहरूको साझा जित हो। काउन्सिलर नीथन सान र एम्बर मोर्लेको पहल हाम्रा लागि सदैव अविस्मरणीय रहनेछ।"

नयाँ पहिचानको सुरुवात

टोरन्टो सिटी काउन्सिलका सबै काउन्सिलरहरूले एकमतले मोसनको पक्षमा उभिनुले नेपाली समुदायले क्यानडाको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा पुर्‍याएको योगदानलाई सहरले उच्च सम्मान दिएको पुष्टि गर्दछ। अबदेखि हरेक वर्षको अप्रिल महिना (जुन महिनामा नेपाली नयाँ वर्ष पनि पर्दछ) टोरन्टोको आधिकारिक पात्रोमा नेपाली कला, संस्कृति र पहिचानको उत्सवको रूपमा मनाइनेछ।

फोटो ग्यालरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio