अन्तर्राष्ट्रिय वेलनेस दिवस: नेपाली दूतावासद्वारा भर्चुअल कार्यक्रम आयोजना !
ओटावा, क्यानडा, वैशाख २ — क्यानडास्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय वेलनेस दिवस २०२६ का अवसरमा आज भर्चुअल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा क्यानडामा रहेका नेपाली समुदायबीच वेलनेसको महत्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रमको सुरुवातमा नेपालका परराष्ट्र मन्त्री माननीय श्री शिशिर खनालको भिडियो सन्देश प्रस्तुत गरिएको थियो।
उद्घाटन मन्तव्य दिँदै क्यानडाका लागि नेपालका राजदूत महामहिम भरत राज पौड्यालले सहभागीहरूलाई स्वागत गर्दै संयुक्त राष्ट्रसंघ महासभाले नेपालद्वारा प्रस्तावित प्रस्ताव पारित गरी हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा घोषणा गरेको जानकारी गराए।
राजदूत पौड्यालले वर्तमान समयको शारीरिक, मानसिक र भावनात्मक सन्तुलनको महत्व औंल्याउँदै वेलनेसलाई जीवनशैलीमा आधारित, निवारणमुखी र व्यक्ति–केन्द्रित अभ्यासका रूपमा अंगिकार गर्नुपर्ने बताए। उनले नेपालमा प्राचीनकालदेखि नै वेलनेस अभ्यास हुँदै आएको उल्लेख गर्दै यसलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्नु साझा दायित्व भएको धारणा राखे।
कार्यक्रममा एनआरएनए–एनसिसी क्यानडाका अध्यक्ष जगन्नाथ सापकोटाले समेत मन्तव्य व्यक्त गरेका थिए। साथै जीवन विज्ञान क्यानडाकी अध्यक्ष प्रियम्बदा आचार्य र उपाध्यक्ष थानेश्वर सुवेदीद्वारा योग, प्राणायाम तथा ध्यान सम्बन्धी संक्षिप्त सत्र सञ्चालन गरिएको थियो।
दूतावासले नेपाली समुदायलाई दैनिक जीवनमा वेलनेस अभ्यास समेट्दै यसलाई विश्वभर प्रवर्द्धन गर्न आह्वान गरेको छ।