संघीय सरकारको आइतबार विद्यालय बिदा दिने निर्णयप्रति डोटीको शिखर नगरपालिका असहमत !
डोटीको शिखर नगरपालिका-संघीय सरकारको आइतबार बिदा दिने निर्णयप्रति असहमति जनाउँदै डोटीको शिखर नगरपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरेको छ। नगर प्रमुख दीर्घबहादुर बलायरले शिक्षा मन्त्रालयलाई सचेत गराउँदै हप्ताको दुइ दिन बिदा हुँदा पठन पाठन संगै अरु अतिरिक्त क्रियाकलापका लागि समय नपुग्ने जनाउदै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
संघीय सरकारको निर्णय कार्यान्वयन गर्दा शैक्षिक सत्रको कार्यपात्रो निर्माणमा ठूलो जटिलता उत्पन्न हुने नगरपालिकाको निष्कर्ष छ। शिक्षा नियमावलीको अनुसार वर्षमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८०–१९० दिन खुद पठनपाठन हुनुपर्ने प्रावधान छ। तर, शनिबार र आइतबारको दुई दिने बिदा, सार्वजनिक बिदा, र परीक्षाका दिनहरू जोड्दा वर्षभरिमा खुद पठनपाठनका लागि जम्मा १३८ दिन मात्र बाँकी रहने नगरपालिकाले जनाएको छ।
यति थोरै समयमा पाठ्यक्रम पूरा गर्न र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न असम्भव हुने भन्दै नगरपालिकाले यस विषयमा तत्काल समाधान खोज्न मन्त्रलायसंग आग्रह गरेको छ। यदि संघीय सरकारले आफ्नो निर्णय नसुधारेमा, संविधानले दिएको अधिकार प्रयोग गर्दै नगरपालिका आफैंले निर्णय गरी आइतबार पनि विद्यालय खोल्ने तयारीमा रहेको नगर प्रमुख बलायरले स्पष्ट पारेका छन्।