काठमाडौं विश्वविद्यालयमा प्रत्यक्ष निर्वाचनको माग गर्दै विद्यार्थीद्वारा प्रशासन घेराउ !
काठमाडौं विश्वविद्यालय (केयु) मा विद्यार्थी कल्याण परिषद्को निर्वाचन प्रणालीलाई लिएर विवाद चर्किएको छ । प्रशासनले स्कुल अफ साइन्स र इन्जिनियरिङमा कक्षा प्रतिनिधि (सीआर) मार्फत अप्रत्यक्ष चुनाव गराउन खोजेपछि रुष्ट विद्यार्थीहरूले सोमबार बिहान प्रशासनिक भवन घेराउ गरेका छन् । सयौँको संख्यामा उपस्थित विद्यार्थीहरूले ’सीआर प्रणाली’ खारेजी र प्रत्येक विद्यार्थीले मतदान गर्न पाउने ’प्रत्यक्ष निर्वाचन’को माग गर्दै नाराबाजी र जागरण गीत प्रस्तुत गरे ।
विगतमा सीआर प्रणाली अपनाउँदा प्रतिनिधि किनबेच हुने र अपारदर्शिता बढ्ने गरेको दाबी गर्दै विद्यार्थीहरूले यसपटक प्रत्यक्ष लोकतन्त्रकै सुनिश्चितता हुनुपर्ने अडान राखेका छन् । यसअघि २०८२ मा प्रत्यक्ष निर्वाचन गर्ने सूचना निकालेर पनि प्रशासन पछि हटेको उनीहरूको आरोप छ । विश्वविद्यालयमा क्रियाशील सबै विद्यार्थी संगठनले यो आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । प्रशासनले संवादमार्फत समस्या सुल्झाउनुको साटो बल प्रयोग गरेरै भए पनि निर्वाचन गराउने मनस्थिति बनाएपछि स्थिति थप पेचिलो बनेको छ ।